Saturday, March 30, 2013

नेपाली चेलीलाई जेल सजाय , प्रेम गर्नु पनि अपराध रे !


वैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्।



नेपाली महिला घरेलु कामदारका रुपमा एक भारतीयको घरमा काम गर्ने गर्थे। उनको लभ परेछ त्यही घरमा कार सफा गर्ने एक पाकिस्तानी केटासँग। भारतीय मालिक घरबाहिर गएको बेला सुटुक्क नेपाली केटीको कोठामा छिरेको बंगलादेशी वाचम्यानले देखेछ। वाचम्यानले ढोका ढकढकाउन जाँदा पाकिस्तानी केटा दुई तलामाथिको बरन्डाबाट हाम्फालेर भाग्न खोज्दा घाइते भएर अहिले ह्विलचेयरमा बस्न बाध्य रहेछ।


मुद्दा अदालतमा पुगेपछि थप कुरा प्रकाशमा आएको छ। नेपाली महिला डि.के. पाँच महिनादेखिको पाकिस्तानी केटा एम.आर.सँगको प्रेम सम्बन्धका कारण गर्भवती पनि रहिछिन्।

नेपाली महिलाले अदालतमा बयान दिँदै पाकिस्तानीसँग लभ परेको बताए। अदालतमा न्यायाधीशहरुका अगाडि उनले भनिन्, ‘हाम्रो मातापिताले पनि विवाहको लागि मञ्जुरी दिइसकेका छन्। घटनाको दिन मैले एम.आर. (पाकिस्तानी) लाई केही लुगा ल्याउन भनेको थिएँ। वाचम्यानले ढोका ढकढकाएपछि ऊ बरन्डाबाट हाम्फाल्यो किनभने ऊ एक्सपोज हुन चाहँदैन थियो।’

पाकिस्तानी केटाले नेपाली महिलासँग सहमतिमा सेक्स गरेको बयान दिए। आफूहरुले एक अर्कालाई प्रेम गर्ने र विवाहको समेत योजना भएको उनले बताए। केही लुगा लिन आफू त्यहाँ गएको र अकस्मात् वाचम्यानले ढोका ढकढकाएपछि भागेको बयान उनले अदालतमा दिए।

विवाहअघि सहमतिमै सेक्स गर्न पनि त्यहाँ वर्जित छ। त्यसैले नेपाली र पाकिस्तानीलाई त्यो अभियोग लगाइएको छ। त्यसबाहेक नेपाली महिलालाई आफ्नो मालिकको फ्ल्याटमा पाकिस्तानीलाई आउन अनुमति दिएको र पाकिस्तानीलाई गैरकानुनी रुपमा अर्काको घरमा पसेको आरोप लगाइएको छ।

भारतीय मालिकले नेपाली महिलालाई आठ महिना अघिदेखि काममा राखेको बयान दिएका थिए।

अदालतले हिजो दिएको यो आदेशविरुद्ध अपील गर्न उनीहरुलाई १२ दिनको समय रहेको गल्फ न्युजले जनाएको छ।


No comments:

Post a Comment