Thursday, June 20, 2013

हुने खानेका छोरा छोरी पढ्ने निजी कलेजका लागी राष्ट्रपती नै हिड्छन् बिज्ञापनमा !!

 

नेपाल सरकारले उच्च माध्यमिक तहको शिक्षालाई व्यवस्थित र मर्यादित बनाउन जारी गरेको निर्देशन उपत्यकाका दर्जनौं कलेजले अवज्ञा गरेका छन् । सरकारलाई ठाडै चुनौती दिई ती कलेजहरूले राष्ट्रप्रमुखलाई समेत आङ्खनो मागिखाने भाँडो बनाएका हुन् ।

सरकारी निर्देशन अवज्ञा गर्दै कलेजहरूले एकातर्फ सार्वजनिक स्थानमा होर्डिङ बोर्ड राखेका छन् भने अर्कोतर्फ राष्ट्रपति र उपराष्ट्रपतिलाई नै विज्ञापनमा प्रयोग गरेका छन् ।
तर, नियमन निकाय उच्च माध्यमिक शिक्षा परिषद्ले भने सरकारी निर्देशन अवज्ञा गर्ने उपत्यकाका दर्जनौं कलेजलाई अहिलेसम्म कुनै कारबाही गरेको छैन । नयाँ बानेश्वरमा रहेको केएन्डके कलेजले राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई विज्ञापनमा प्रयोग गरेको राजधानी दैनिकमा समाचार छ ।

राष्ट्रपति यादव र उपराष्ट्रपति झालाई विभिन्न पत्रिका र टेलिभिजनमा विद्यार्थीलाई पुरस्कार दिएको समारोहको तस्बिर राखिएको छ । २०६८ सालमा निरूपमा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट ब्याचलर अफ सोसल वर्कमा सर्वोत्कृष्ट भएको उल्लेख गरिएको छ ।

नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट २८ असोज २०६९ मा भएको निर्णयबाट उच्च माध्यमिक तहका लागि आचारसंहिता जारी गर्ने निर्णय गरेको थियो । सो निर्देशिकामा कुनै पनि विद्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका सचिव, उच्चपदस्थ व्यक्तिहरू, भूतपूर्व राजदूत तथा भूतपूर्व उच्चपदस्थ व्यक्तिको नाम वा फोटो राखेर विज्ञापन गर्न, गराउन नपाउने व्यवस्था छ । तर, केएन्डके कलेजले सो निर्देशनलाई ठाडै उल्लंघन गरेको छ ।

सरकारी निर्देशनको अवज्ञा गर्दै विज्ञापनमा उच्च व्यक्तिहरूको नाम दुरुपयोग गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र चेतावनी दिने निर्देशिकामा उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव नारायण कोइरालाले सरकारी निर्देशिका अवज्ञा गर्ने उच्च माविहरूलाई कारबाही गर्ने बताए ।

निर्देशिकाविपरीत विज्ञापन गर्ने र सार्वजनिक स्थानमा विज्ञापन गर्ने कलेजको तत्काल अनुगमन प्रक्रिया अगाडि बढाउँछौं,’ अनुगमन समितिका संयोजकसमेत रहेका कोइरालाले राजधानीसँग भने । उपत्यकाको वसुन्धरामा रहेको तक्षशिला कलेजले महाराजगन्ज चोकमा होर्डिङ बोर्ड राखेर विज्ञापन गरेको छ ।

सो विज्ञापनमा पूर्वराजदूत डा।जयराज आचार्यको तस्बिर राखेको छ । कलेजले सार्वजनिक स्थानमा भर्ना खुलाको ब्यानर टाँस गरेको छ । वसुन्धराकै अन्य केही कलेजले पनि बिजुलीका पोलमा भर्ना खुलाको ब्यानर टाँस गरेका छन् ।