विराटनगर, जेठ ११- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले गुण्डागर्दी गरेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्तिहरु निर्दोष भएको बताएकी छन् ।
एमाले निकट युवा संघका केन्द्रीय सदस्य विरुद्ध सम्पत्ति शुद्धिकरण विभागले गुन्डागर्दीको बलबाट अकुत सम्पत्ती आर्जन गरेको मुद्दा चलाएपनि भण्डारीले विभागको आरोपमा सत्यता नभएको दावी गरेकी छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भण्डारीले कसैले आरोप लगाएकै भरमा आफ्नो पार्टीका कार्यकर्ताहरु डन नहुने भन्दै एमालेले त्यसलाई स्वीकार नगर्ने बताइन्। कसैले आरोप लगाउंदैमा आफ्ना कार्यकर्ताहरु डन र अपराधी नहुने भएकोले पार्टीले उनीहरुलाई कार्वाही नगर्ने उनको भनाई थियो ।
एमालेको आडमा गुण्डागर्दी गरी अकुत सम्पत्ति आर्जन गरेका पर्शुराम बस्नेतलाई एमाले नेता केपी ओली पक्षधरहरुल संरक्षण गरेको आरोप लागिरहेको बेला ओली निकट नेतृ भण्डारीको यस्तो प्रतिक्रिया आएको हो । एमालेभित्रै पार्टीको बद्नाम भएकोले बस्नेतलाई कार्वाही गर्नुपर्ने आवाज उठिरेपनि भण्डारीले उनीहरुलाई पार्टीले कार्वाही हैन संरक्षण गर्ने स्पष्ट संकेत गरेकी छन्। एमाले मोरङका जिल्ला कमिटि सदस्यसमेत रहेका बस्नेतलाई कार्वाही गर्ने कि नगर्ने भन्ने विषयमा एमाले मोरङको केही दिन अगाडि बसेको बैठकमा कुर्सी हानाहान भएको थियो ।
यसअघि गुन्डा नाईकेहरु विरुद्ध मुद्दा दर्ता भएपछि एमाले नेता ओलीले उनीहरु डन र गुन्डा नभई खेलाडी भएको बताएका थिए । खेलाडीलाई डन भनेर गलत प्रचार गरिएको ओलीको भनाई थियो । बस्नेतलाई कार्वाहीको माग मोरङ एमालेका केही जिल्ला सदस्यहरुले बैठकमा गरेपछि अर्को पक्षले कार्वाही गर्न नहुने अडान लिएको थियो । बैठकपछि जिल्ला अध्यक्ष महेश रेग्मीलाई जानकारी नै नदिई बस्नेतको हरेक क्रियाकलापको पक्षमा उभिदै आएका जिल्ला सचिब महेश रेग्मीले विज्ञप्ति निकालेका थिए ।
गुण्डा नाईकेहरुलाई राजनीतिक संरक्षण भएकोले नै सम्पत्ति शुद्धिकरण विभागले उनीहरुलाई पक्राउ नगरी मुद्दा चलाएको चर्चा छ । एमाले उपाध्यक्ष भण्डारीले त्यसलाई पुष्टि गर्दै बस्नेतसहित गुन्डा नाईकेलाई कानुनले कारवाही गरे गलत हुने भन्दै पार्टीले संरक्षण गरिरहने बताएकी छन् ।
एमाओवादीले संविधानसभाको चुनाव भाँड्न खोजिरहेको आरोप लगाउँदै नेतृ भण्डारीले एकीकृत माओवादीको एजेण्डामा एमाले नलत्रिने बताइन्। लोकतन्त्रलाई स्थायित्व दिन थ्रेसहोल्डको प्रावधान राख्नुपर्ने भन्दै उनले त्यसमा काँग्रेस-एमाले पछि नहट्ने बताइन् ।
मुलुकलाई निकास दिने एक मात्र विकल्प निर्वाचन भएकोले सबै विवाद मिलाएर मंसिरभित्र निर्वाचन गर्नुको विकल्प नरहेको नेतृ भण्डारीको भनाई छ । उनले लोकतन्त्रलाई बचाउन आगामी चुनावमा लोकतान्त्रिक शक्तिहरु एक भएर जानुपर्ने आवश्यकता रहेको बताइन् ।
पार्टीमा अवसर र लाभ उठाउन आएकाहरुले त्यो लिन नपाएपछि पार्टी छोडेको प्रतिक्रिया दिँदै भण्डारीले उनीहरु विस्तारै एमालेमा नै फर्कने दावी गरिन् । एमाले विचार र सिद्धान्तका आधारमा हिँडेकाले केही ढुलमुले र अधैर्य चरित्र भएकाहरु बाहिरिंदैमा कुनै असर नपर्ने उनको भनाई थियो ।

