मजदुर दिवसको कुरा गर्दा धुरु धुरु रोए बास्तबिक मजदुर !!
काठमाडौं, १८ बैशाख मेरो घर कपिलवस्तुको शिवपुरमा हो । मेरो नाम हटन यादव तर मलाई धेरैले हटना भन्छन् । अहिले त्यस्तै ५५÷ ५६ बर्ष भएँ होला । पहिले मेरो बुवा पनि रिक्सा चलाउँथे । आमाले सानैमा अर्केसँग विहे गरेर गइन् भन्ने सुनेको हुँ , मैले थाहा पाइन । कपिलवस्तुको चन्द्रौटामा मेरो बुवाले रिक्सा चलाए धेरै बर्ष ।
पछि गाडिले ठक्कर दिएर बाबुको मृत्यु भयो । बुवा हुँदासम्म कहिलेकाहीँ स्कुल जान्थेँ । बुबाको मृत्युपछि म जान छोडेँ । विहान बेलुका खानको लागि उपाय भएन । मेरो एउटा सानो भाई थियो । त्यसलाई पनि पाल्नुपर्ने, त्यसैले ठेला चलाउन थाले । १५ वर्षजति त्यहीँ ठेला चलाएँ ।
पछि काठमाडौंमा राम्रो कमाइ हुन्छ भनेर अरुले सुनाए । अनि काठमाडौँ आएँ । यहाँ एउटा मालिककहाँ काम गर्छु । अरुले भनेको ठाउँमा ठेलामा सामान पु¥याउने अनि सिमेन्ट पनि बोक्नुपर्छ ।
म सानैदेखिबाट मजदुरी गरिरहेको छु । आज मजदुर दिवस भन्ने थाहा छैन । पोहोर पोहोर पनि नेताहरुले भाषण गरेका सुन्थे । कतिपटक मलाई पनि र्यालीमा जाउँ भनेर भनेका छन् । सुन्छु, मजदुरलाई अब राम्रो व्यवस्था हुन्छ भन्ने तर खै ? सबै यो पार्टी र उ पार्टी भन्छन्, जसले जे भनेनि म जस्तो यो शहरमा कति हो कति छन्, सबैको समस्या उस्तै छ ।
पहिलेपहिले म पनि जान्थे नारा लगाउन । तर दिनभरी नारा लगायो साहुलाई छलेर अनि बेलुका पुगेपछि गाली र हप्काइ खानुपर्ने । “राजनीति गर्न आएको होस् कि काम गर्न ?” भनेर हप्काउँछन् ।
त्यसपछि छोदिदिएँ, जे गरेपनि यस्तै हो भनेर । मालिकको नाम भन्न नलगाउनुहोस् है, थाहा पाए भने त्यही कामबाट पनि हटाइदिन्छन् । साह्रै गाह्रो छ, काम गर्न । म मात्रै होइन अरु दुई जना पनि छौँ साथी । सबैको हालत उस्तै छ ।
मैले पनि सँधै मालिकको हप्काइ सहनुपर्छ । जतिकाम गरेपनि जस पाउँदिन । विहानै उठेर ठेलामा सामान पुर्याउनुपर्छ । कहिले ट्रकको सिमेन्ट बोकेर अरुको घरसम्म झार्नुपर्छ । पैसा पनि कहिले दिन्छन् कहिले दिँदैनन् । दिनको दुई सय दिने भनेका हुन् सुरुमा, कहिले दिइहाल्छन् कहिले ठेगान हुँदैन । जस्तो भएनि खान बस्न दिएका छन् त्यसमै सन्तुष्ट छु । अन्त जाने ठाउँ छैन । त्यसैले बाध्य भएर काम गर्नु परेको छ ।
यो पनि पढौ
http://parbasi.blogspot.com/2013/05/blog-post.html




No comments:
Post a Comment