Tuesday, April 2, 2013

नव गठित माओवादीसंग सहकार्यमा समस्या :- मोहन बिक्रम सिंह


� मोहनविक्रम सिंह
वर्तमान निर्दलीय सरकारको विरोधको प्रश्नमा हामीले नवगठित माओवादीसित पनि मिलेर कतिपय कार्यक्रमहरु संयुक्त रुपले सञ्चालन गर्ने निर्णय गरेका थियौं । तर प्रारम्भमा नै त्यसबारे कतिपय समस्याहरु उत्पन्न भएका छन् । प्रथम, आन्दोलनको कार्यक्रममा उनीहरुले परस्परमा सहमति नभएका कैयौं नाराहरु लगाउने वा गतिविधिहरु सञ्चालन गर्ने कार्यहरु गरे । द्वितीय, सञ्चार माध्यमहरुले पनि २२ दलका नाममा उनीहरुका सबै नारा वा कार्यक्रमहरुमा हामीहरु पनि सामेल भएको प्रचार गरे । त्यसले गर्दा हाम्रो बारे नै देशमा व्यापक भ्रम उत्पन्न भयो ।
हाम्रो पार्टीको संयुक्त मोर्चाको नीति अनुसार गम्भीर प्रकारका मतभेद भएका विभिन्न राजनीतिक शक्तिहरुसित पनि सहमति भएका विषयहरुमा मिलेर काम गर्ने वा उनीहरुका नीतिहरुलाई पनि समर्थन गर्ने हाम्रो नीति रहँदै आएको छ । त्यही नीति अनुसार हामीले कतिपय सैद्धान्तिक र राजनीतिक प्रश्नहरुमा नवगठित माओवादीसित हाम्रो गम्भीर प्रकारको मतभेद भएता पनि गैर�दलीय आधारमा प्रधानन्यायाधीशलाई कार्यपालिकाको प्रमुख बनाउने ४ दलको सहमतिका विरुद्ध हामीले नवगठित माओवादीसित मिलेर संयुक्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेका थियौं । तर त्यो संयुक्त आन्दोलनका दौरानमा उनीहरुले संयुक्त आन्दोलनको आचार संहिताका विरुद्ध कैयौं नारा लगाउने वा कार्यक्रमहरुको सञ्चालन गर्ने काम गरे ।
बेग्लाबेग्लै पक्षहरुसितको संयुक्त आन्दोलनका बेलामा सबै पक्षहरुले, संयुक्त रुपले सहमति भएका विषयहरुका आधारमा नै आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । आफ्ना भिन्न नीति, नारा वा कार्यक्रमहरुलाई बेग्लै सञ्चालन गर्ने उनीहरुलाई स्वतन्त्रता हुन्छ । तर संयुक्त आन्दोलनको बेलामा इमान्दारितापूर्वक नै सहमति भएका विषयहरुमा आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउनु पर्दछ । तर नवगठित माओवादीले संयुक्त आन्दोलनको त्यो आचार संहितालाई पालन गर्ने गरेको छैन । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णयका विरुद्धका कार्यक्रममा, प्रथम, उनीहरुले सहमति नभएका नाराहरु पनि लगाउने गरे । द्वितीय, उनीहरुले उपत्यका बन्द, देशका विभिन्न भागहरुमा हडताल गर्ने, २५ बुँदे र ११ बुँदे सहमतिका प्रतिहरु जलाउने, प्रधानन्यायाधीश र ४ दलका नेताहरुका पुत्ला जलाउने आदि कार्यहरु गरे । तृतीय, कतिपय जिल्लाहरुमा उक्त कार्यक्रमहरुमा उनीहरुले हाम्रा साथीहरुलाई पनि भ्रम दिएर आफ्ना उक्त कार्यक्रमहरुमा सामेल गराउने प्रयत्न गरे ।
चैत्र २ गते नवगठित माओवादीको कार्यालयमा ३४ दलको संयुक्त बैठक भएको थियो । त्यो बैठकमा उनीहरुले उपस्थितिमा भएको हस्ताक्षरलाई संलग्न गरेर बैठकमा स्वीकृत नभएका वा प्रस्तुत नै नभएका विषयहरुलाई पनि सामेल गरेर सामुहिक रुपले स्वीकृत भएको भनेर विज्ञप्ति जारी गरे । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो संयुक्त आन्दोलनको मर्म र आचारसंहिताको गम्भीर प्रकारको उल्लंघन थियो ।
सहमति भएका विषयहरुमा नवगठित माओवादीसित पनि संयुक्त आन्दोलनमा सामेल हुने हाम्रो नीति अहिले पनि कायम छ । तर केही दिन उनीहरुसित भएको संयुक्त कार्यक्रममा उनीहरुले संयुक्त आन्दोलनको मान्य आचार संहिताको उनीहरुले गरेको उल्लंघन माथि विचार गर्दा उनीहरुले त्यस प्रकारको कार्यप्रणालीमा सुधार नगर्दासम्म उनीहरुसित सहमति भएका विषयहरुमा पनि संयुक्त आन्दोलन सञ्चालन गर्न मुश्किल पर्नेछ । नवगठित माओवादीले वर्तमान सरकारको विघटन सहित आफ्ना मागहरु पूरा नगरेमा संविधानसभाको चुनावको बहिष्कार गर्ने घोषणा गरेका छ । अब उनीहरुले यही चैत्र १५ देखि २५ गतेसम्म संघर्षको कार्यक्रमको घोषणा गरेका छन् । प्राप्त ताजा समाचार अनुसार उनीहरुका कार्यकर्ताहरुले कतिपय जिल्लाहरुमा मतदाता संकलन कार्यक्रममा बाधा हाल्ने, निर्वाचनसित सम्बन्धित ल्यापटप लुटेर लैजाने वा कार्यालयहरुमा तोडफोड गर्ने समेत गरेका छन् । त्यसरी यो बुझ्न गाह्रो पर्दैन कि उनीहरुको संघर्षको कार्यक्रम सम्पूर्ण संविधानसभाको चुनावलाई सफल हुन नदिनेतिर लक्षित छ ।
माओवादीहरुले संविधानसभाको चुनावका विरुद्ध अपनाएको वा त्यसलाई असफल पार्न अपनाएको नीति प्रकट रुपमा उनीहरुको �वामपन्थी� संकीर्णवादी नीतिको परिणाम हो । सैद्धान्तिक र रणनीतिक रुपमा उनीहरुका विचारहरु अपेक्षाकृत सही छन् भनेर हामीले बारम्बार स्पष्ट गर्दै आएका छौं । माक्र्सवादी�लेनिनवादी सिद्धान्तले यो कुरामा जोड दिन्छ कि आफ्नो सैद्धान्तिक र रणनीतिक मान्यताहरुमा दृढ रहँदै कुनै खास बेलाको स्थिति अनुसार तात्कालिक कार्यदिशा निश्चित गर्नुपर्दछ । तर सैद्धान्तिक र रणनीतिक विषयहरुमा नवगठित माओवादीहरुको दृष्टिकोण जस्तो कि माथि भनियो, अपेक्षाकृत सही भए पनि तात्कालिक कार्यदिशा अपनाउने बारे उनीहरुको दृष्टिकोण सही रहेको छैन । त्यसबारे उनीहरुको मुख्य कमजोरी यो रहेको छ भन्ने रणनीतिक मान्यताहरुलाई उनीहरुले बस्तुस्थितिको विश्लेषण गरेर सैद्धान्तिक र रणनीतिक मान्यताहरुलाई यान्त्रिक रुपले प्रयोग गर्ने प्रयत्न गर्दछन् । अर्काशब्दमा आफ्नो आत्मगत चिन्तनलाई वस्तुस्थितिको मूल्यांकन नगरिकन प्रयोग गर्ने प्रयत्न गर्दछन् । त्यसैको परिणाम हो कि एकातिर, देशको अहिलेको विशिष्ट ऐतिहासिक अवस्थामा बहुदलीय व्यवस्था, संविधानसभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण वा गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरुको प्रगतिशील महत्वलाई बुझ्न उनीहरु असमर्थ भएका छन् भने, अर्कातिर, जनगणतन्त्र, जनसंविधान वा जनविद्रोह जस्ता कुरामा जोड दिने गरेका छन् । उनीहरुले दिने क्रान्तिकारी नारा उनीहरुको सैद्धान्तिक र रणनीतिक मान्यता अनुरुप छ, तर वर्तमान वस्तुस्थिति र अहिलेको ऐतिहासिक सन्दर्भसित मेल खान्नन् । त्यसकारण व्यवहारमा उनहिरुले बहुदलीय व्यवस्था, संविधानसभाको चुनाव, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत बाधा पुराएर राजावादीहरु र प्रतिगमनलाई मद्दत पुराउने काम गर्दछन् ।
माथि उनीहरुको सैद्धान्तिक र रणनीतिक मान्यताहरुलाई अपेक्षाकृत नै सही भएको भनिएको छ । त्यसको कारण यो हो कि सैद्धान्तिक रुपमा पनि उनीहरुका नीतिहरु गम्भीर रुपले गलत छन्, प्रथम, उनीहरुले जातिवादलाई समर्थन गर्दछन् जो वर्ग�संघर्षको माक्र्सवादी�लेनिनवादी मान्यताका विरुद्ध छ । द्वितीय, उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले राजापरस्त दृष्टिकोण अपनाउँदै आएका छन् । उनीहरुको त्यस प्रकारको दृष्टिकोणका पछाडि पहिले तात्कालिक राजा वीरेन्द्रको पालामा जस्तो छद्म रुपमा राजावादीहरुसितको साँठगाँठले काम गरेको छ वा छैन ? त्यसबारे हामीलाई केही थाहा छैन । तैपनि उनीहरुको त्यस्तो साँठगाँठ वा नीयत नभएपनि व्यहारमा उनीहरुले अपनाएको नीतिबाट राजावादीहरुको प्रतिगमनको उद्देश्यहरुलाई नै मद्दत पुराउछ । उनीहरुको सकारात्मक पक्ष के छ भने उनीहरु राष्ट्रिय स्वाधिनताको पक्षमा र भारतीय विस्तारवादका विरुद्ध स्पष्ट अडान लिएका छन् । तर संघीयता र जातिवादप्रतिको समर्थनका कारणले उनीहरुको नीतिको कारणले राष्ट्रिय विखण्डनलाई नै प्रोत्साहित गर्दछ । त्यसले गर्दा, प्रथम, उनीहरुले वस्तुस्थितिको सही विश्लेषण गरेर सही कार्यदिशा निर्धारित नगरेकाले र, द्वितीय, उनीहरुको जातिवादी र राजापरस्त धारणाका कारण उनीहरुले अपेक्षाकृत सही दृष्टिकोण अपनाए पनि त्यसले उनीहरुलाई सही मार्ग दर्शन गर्दैन ।
आफ्नो त्यस प्रकारको दोषपूर्ण दृष्टिकोणका कारणले उनीहरुले संविधानसभाको चुनवलाई असफल गर्ने नीति अपनाएका छन् र त्यस अनुसार संघर्षको कार्यक्रमको सञ्चालन गर्न पुगेका छन् । त्यसले गर्दा उनीहरुको जातिवादीहरुसित मात्र होइन, राजावादीहरुसितको साँठगाँठ पनि बढ्दै छ । त्यस प्रकारको साँठगाँठले उनीहरुलाई प्रतिगमन र राष्ट्रघातको दिशामा लैजाने छ । उनीहरुले एमाओवादीलाई नवसंशोधनवादी भनेर विरोध गरेका छन्, जो सही छ । तर सामाजिक फासिवादी प्रकारको प्रवृत्तिले उनीहरु एमाओवादीसित अभिन्न रुपले जोडिएका छन् । डेकेन्द्र हत्याकाण्ड बारे उनीहरुले अपनाएको दृष्टिकोणले बताएको छ, असामाजिक फासिवादी प्रकारका प्रवृत्तिका कारणले उनीहरु अभिन्न रुपले एमाओवादीसित जोडिएका छन् ।
माथिको संक्षिप्त विवरणले बताउँछ, नवगठित माओवादीसित हाम्रा गम्भीर प्रकारका मतभेदहरु छन् । त्यो कुरा जान्दाजान्दै पनि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कार्यका विरुद्धको संघर्षमा हामीले उनीहरुसित मिलेर संघर्ष गर्ने नीति अपनाएका थियौं । गतकालमा कैयौं गम्भीर प्रकारको मतभेदहरु भएका कैयौं पक्षहरुसित हामीले कार्यगत एकता गरेका वा उनहिरुका बेग्लाबेग्लै नीतिहरुलाई समर्थन गरेका कैयौं उदाहरणहरु छन्, जस्तै कि कोदारी र पूर्व पश्चिम राजमार्गको निर्माणको नीतिहरुलाई समर्थन, २०४६ सालमा ने.का.ले गरेको निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको आन्दोलनको समर्थन र सहभागिता, महाकाली सन्धीका विरुद्धको संघर्षमा पञ्चेहरुसित पनि कार्यगत एकता, ०६२�६३ को आन्दोलनमा गम्भीर मतभेद भएका कैयौं राजनीतिक शक्तिहरुसित कार्यगत एकता, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईको नेतृत्वमा बनेका सरकारहरको समर्थन आदि हाम्रो त्यस प्रकारको संयुक्त मोर्चाको नीति अनुसार नै भएका थिए । त्यही नीति अनुसार प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउने ४ दलको सहमतिका विरुद्धको संघर्षमा नवगठित माओवादीहरुसित पनि एकता कायम भएको थियो । भविष्यमा पनि त्यस प्रकारको कुनै सहमति भएको अवस्थामा उनहिरु वा अन्य पक्षसित कार्यगत एकता गर्नका लागि हाम्रो ढोका खुला रहने छ । तैपनि प्रथम, उनीहरुले संविधानसभाको चुनावलाई नै असफल पार्ने प्रकारको संघर्षको कार्यक्रम सञ्चालन गरेकाले र द्वितीय, सहमति भएका विषयहरुमा संयुक्त आन्दोलन सञ्चालन गर्दा पनि संयुक्त आन्दोलनको मान्य आचार संहिताको उल्लंघन गर्ने गरेकाले हामी उनीहरुले आफ्नो कार्यपद्धतिमा सुधार नगर्दासम्म तत्काल उनीहरुसित कार्यगत एकतामा समस्या उत्पन्न भएको छ । तर हामीले आशा गर्दछौं, पछि उनीहरुले आफ्नो अहिलेको संयुक्त आन्दोलन सम्बन्धी गलत कार्य प्रणालीलाई सुधार गर्ने छन् र भविष्यमा उनीहरुसित सहमति भएका विषयहरुमा संयुक्त आन्दोलनलाई अगाडि बढाउनु सम्भव हुनेछ ।

No comments:

Post a Comment